Sunday, August 23, 2020

8:51 AM

गोरखापत्र 

उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार
. उद्योग भन्नाले के बुझिन्छ ? उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार केके हुन् ? संक्षेपमा लेख्नुहोस् ।
 सीप र साधनको प्रयोग गरी सानो तथा ठूलो परिमाणमा वस्तुहरू उत्पादन गर्ने कामलाई उद्योग भनिन्छ । उद्योगहरू घरेलु, कुटीर, साना, मझौला तथा ठूलाखालका हुन्छन् । देशलाई आत्मनिर्भर र विकसित बनाउन उद्योगधन्दाको महत्तोपूर्ण हात हुन्छ । उद्योगधन्दा मुलुकको आर्थिक विकासका वाहक हुन् । रोजगारी सिर्जनाका आधारशिला हुन् ।
उद्योग सञ्चालनका लागि आवश्यक पूर्वाधार
उद्योग सञ्चालनमा सरकारी स्पष्ट नीति तथा कानुनी व्यवस्था, सरकारी सहयोग, सहजीकरण, समन्वय तथा नियमन, मुलुकमा लगानीमैत्री वातावरण, निजी क्षेत्रलाई सहयोग गर्ने राजनीतिक प्रणालीको आवश्यकता त पर्छ नै, यी सँगै उद्योग सञ्चालनमा निम्न पूर्वाधार आवश्यक पर्दछ :
कच्चा पदार्थ,
यातायात तथा सञ्चारको सुविधा,
विद्युत् तथा अन्य ऊर्जा,
दक्ष जनशक्ति,
बजार,
पुँजी,
वित्तीय सुविधा ।

. नेपालको निजामती सेवामा पदपूर्ति प्रक्रियाका चरणहरू उल्लेख गर्नुहोस् ।
 निजामती सेवामा रिक्त पदमा नयाँ कर्मचारी भर्ना गरेर कर्मचारी आपूर्ति गर्ने कार्य पदपूर्ति हो । पदपूर्ति निरन्तर चल्ने प्रक्रिया हो । नेपालको निजामती सेवामा पदपूर्ति प्रक्रियामा विभिन्न चरणहरू प्रचलित छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
वार्षिक कार्यतालिका प्रकाशन,
माग सङ्कलन र प्रतिशत निर्धारण,
विज्ञापन प्रकाशन,
दरखास्त सङ्कलन, दरखास्त रुजु र स्वीकृति,
शैक्षिक योग्यता एवम् पाठ्यक्रम निर्माण, परिमार्जन तथा संशोधन,
प्रश्नपत्र निर्माण एवम् परिमार्जन, प्रश्नपत्र छनोट,
लिखित परीक्षा सञ्चालन,
उत्तरपुस्तिका दोहोरो कोडिङ,
उत्तरपुस्तिका परीक्षण,
लिखित परीक्षा नतिजा,
तोकिएको पदमा प्रयोगात्मक परीक्षा, सीप परीक्षण, सामूहिक छलफल,
अन्तर्वार्ता,
योग्यताक्रम सिफारिस ।

. नेपालको संविधानमा न्याय र दण्ड व्यवस्थासम्बन्धी केकस्तो नीतिगत व्यवस्था छ ?
 नेपालको संविधानको धारा ५१ मा न्याय र दण्ड व्यवस्थासम्बन्धी देहायबमोजिमको नीतिगत व्यवस्था छ :
न्याय प्रशासनलाई छिटोछरितो, सर्वसुलभ, मितव्ययी, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने,
सामान्य प्रकृतिका विवाद समाधानका लागि मेलमिलाप, मध्यस्थताजस्ता वैकल्पिक उपायहरू अवलम्बन गर्ने,
राजनीतिक, प्रशासनिक, न्यायिक, सामाजिकलगायत सबै क्षेत्रको भ्रष्टाचार र अनियमितता नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्ने ।

. आर्थिक वृद्धि र आर्थिक विकास भनेको के हो ? प्रस्ट गर्नुहोस् ।
 एक वर्षमा वस्तु तथा सेवाको उत्पादनमा आउने वृद्धिलाई आर्थिक वृद्धि भनिन्छ । आर्थिक वृद्धि आर्थिक विकासको पूर्वसर्त हो । यो समृद्धितर्फको यात्रा हो । राष्ट्र विकसित भएको अवस्थाको सुरुवात हो । यो विकासको साधन हो । जुन वृद्धि मोडलमा आधारित हुन्छ । यसमा कुनै एक क्षेत्रको मात्र वृद्धि भएको हुन्छ, त्यसैले यसले अर्थतन्त्रको समग्रतालाई समेट्न सक्दैन । त्यही भएर सबै क्षेत्रको वृद्धि नभए पनि आर्थिक वृद्धि दर उच्च हुन सक्छ । कुनै क्षेत्रको उत्पादनको वृद्धिले आयको वितरण हुन्छ तर आयको सबैमा समानुपातिक वितरण भएको हुँदैन । यसमा रोजगारी सिर्जना हुन्छ तर सबै क्षेत्रको वृद्धि नहँदा पूर्ण रोजगारीको ग्यारेन्टी हुँदैन । त्यसकारण आर्थिक वृद्धि उच्च हँदैमा गरिबी न्यूनीकरण नहुन सक्छ ।
आर्थिक विकास
अर्थतन्त्रको समग्र सबै पक्षको विकास भएको अवस्थालाई आर्थिक विकास भनिन्छ । आर्थिक वृद्धि उच्च, दिगो र फराकिलो हुँदै जाँदा आर्थिक विकास हुन्छ । समावेशी आर्थिक विकास अहिलेको ज्वलन्त विषय बनेको छ । यो राष्ट्रको मूलभूत लक्ष्य हो, विकासको साध्य हो । जुन विकास मोडेलमा आधारित छ । उच्च एवम् दिगो वृद्धि र क्षेत्र विस्तार यसका आधार हुन् । यसले राष्ट्रको समग्र सबै पक्षलाई समेटेको हुन्छ । यो राष्ट्रको सबै क्षेत्रको विकास भएको समृद्धिको अवस्था हो । आयको समानुपातिक वितरण हुने र हेरक क्षेत्रको उत्पादन तथा वितरणको पूर्ण विकास भएको अवस्थाले गर्दा यसमा रोजगारी सिर्जनाको ग्यारेन्टी भई गरिबी न्यूनीकरण हुन्छ ।

. भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्र्कता केन्द्रको भूमिकाबारे लेख्नुहोस् ।
 भ्रष्टाचारजन्य कार्यलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न तथा भ्रष्टाचारविरुद्ध जनचेतना अभिवृद्धि गर्न प्रधानमन्त्रीको प्रत्यक्ष रेखदेख र नियन्त्रणमा रहनेगरी राष्ट्रिय सतर्कता केन्द्र स्थापना गरिएको हो । निजामती सेवाको विशिष्ट श्रेणीको अधिकृत प्रमुख रहने यस केन्द्रले नेपाल सरकारका सबै मन्त्रालय, विभाग, कार्यालय र सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमित रूपमा भएनभएको विषयमा सूचना सङ्कलन गर्ने र त्यस्ता निकायबाट नियमित रूपमा हुनुपर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो विषयमा सतर्क गर्दै आएको छ । भ्रष्टाचार नियन्त्रणमा यसको भूमिकालाई निम्नानुसार लेख्न सकिन्छ :
सार्वजनिक पद धारण गरेको व्यक्तिले प्रचलित कानुनबमोजिम दिइएको सम्पत्ति विवरण र आयको अनुगमन गर्ने,
भ्रष्टाचार हुन सक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्ने आवश्यक व्यवस्था मिलाउने,
भ्रष्टाचार नियन्त्रण सम्बन्धमा अपनाउनुपर्ने नीति, रणनीति र तत्सम्बन्धी कानुनमा कुनै सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने,
नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा सार्वजनिक संस्थामा उजुरी पेटिका राख्ने व्यवस्था मिलाउने,
भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकताअनुसार सम्बन्धित निकायलाई सुझाव दिने, निर्देशन दिने,
भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचारसम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गराइराख्ने,
भ्रष्टाचारसम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने,
भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य कार्य गर्ने, गराउने,
नेपाल सरकारले तोकेको अन्य कार्य गर्ने, गराउने ।

. राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार केके हुन् ? उल्लेख गर्नुहोस् ।
 प्रधानमन्त्रीको अध्यक्षतामा गठित राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार नेपालको संविधान र सैनिक ऐन२०६३ बमोजिम निम्नानुसार छन् :
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्ने,
नेपाली सेनाको परिचालन, सञ्चालन र प्रयोगसम्बन्धी नीति, योजना तथा कार्यक्रम तयार गरी नेपाल सरकार समक्ष पेस गर्ने,
नेपाली सेनाको सङ्ख्या र सङ्गठनात्मक संरचनासम्बन्धमा नेपाल सरकारलाई सुझाव पेस गर्ने,
नेपाली सेनाको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,
नेपाली सेनाको हतियार, खरखजाना तथा अन्य सैन्य सामग्रीको व्यवस्थापन सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सुझाव पेस गर्ने,
वार्षिक प्रतिवेदन तयार गरी राष्ट्रपतिसमक्ष पेस गर्ने र राष्ट्रपतिले त्यस्तो प्रतिवेदन प्रधानमन्त्रीमार्फत सङ्घीय संसद्समक्ष पेस गर्न लगाउने,
तोकिएबमोजिमका अन्य काम गर्ने,
राष्ट्रिय सुरक्षा परिषद्को काम कारबाही सञ्चालन गर्नका लागि रक्षा मन्त्रालयअन्तर्गत एक सचिवालय रहने र राष्ट्रिय सुरक्षा परिषद्को बैठकसम्बन्धी कार्यविधि राष्ट्रिय सुरक्षा परिषद् आफैँले निर्धारण गरेबमोजिम हुने व्यवस्था छ ।

. जलवायु परिवर्तनको असर कम गर्न चाल्नुपर्ने उपायहरू केके हुन् ? लेख्नुहोस् ।
@ जलवायु परिवर्तन कार्वनडाइअक्साइडलगायतका ग्यास उत्सर्जनबाट हुन्छ । त्यसैले उद्योग, कलकारखाना, यातायात तथा मानवीय क्रियाकलापहरूबाट हुने यस्ता ग्यास उत्सर्जनलाई न्यून गर्नुपर्छ । जलवायु परिवर्तनको असर कम गर्न अरू निम्न उपायहरू चाल्नुपर्दछ :
गरिबी र अन्य कारणबाट हुने वन विनाशलाई रोक्ने,
मानवीय क्रियाकलाप र विकास प्रक्रियालाई वातावरणमैत्री बनाउने,
वातावरणीय प्रभाव मूल्याङ्कनलाई संस्थागत गर्ने,
प्रदूषण मापदण्ड निर्धारण गरी कार्यान्वयन गर्ने,
वातावरण संरक्षण तथा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि, महासन्धिहरूको कार्यान्वयन गर्ने,
हरित अर्थतन्त्रको अवधारणा अवलम्बन गर्ने,
न्यून कार्बन उत्सर्जन विकास रणनीति तर्जुमा गरी कार्यान्वयन गर्ने,
वातावरण संरक्षणसम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने,
फोहोरमैलाको उचित व्यवस्थापन गर्ने,
व्यवस्थित सहरीकरण तथा उचित बसोवासको व्यवस्था गर्ने,
वातावरणीय अनुगमन, निरीक्षण र प्रतिवेदन कार्यलाई प्रभावकारी बनाई वातावरणीय सुशासन कायम गर्ने, यस कार्यका लागि वातावरण विभागलाई थप क्रियाशील बनाउने ।

  

0 comments:

Post a Comment